Technology 8 min read

मुलुकभर फैलिदै स्मार्ट डिजिटल खानेपानी

ICT Samachar

Dec 2022

दियालो टेक्नोलोजीका सीईओ पीआर खनाललेखनाथ सानासहरी खानेपानी मुलुकको एक ठूलो खानेपानी उपभोक्ता समितिमा पर्छ । १४ हजार खानेपानी उपभोक्ता भएको यसको क्षेत्रफल ७८ वर्गकिलोमिटरमा फैलिएको छ ।

ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँ जति सुन्दर छ, त्यत्तिनै चुनौति थियो खानेपानी व्यवस्थापन । खानेपानीको कार्यालय एउटा कुनामा थियो । बिल तिर्नमात्र होइन, पानी आएन, केही समस्या भएमा गुनासो गर्न कतिपय उपभोक्तालाई बसमा एक घण्टा जानुपर्थ्यो । गाडी भाडा खर्च त्यसमाथि कार्यालयमा पनि लाइनमा बस्नु पर्ने ।

उपभोक्ता वाक्क भइसकेका थिए । "हामीलाई धेरै अप्ठारो भयो, टोलटोलमा बिल तिर्ने कार्यालय चाहियो", उपभोक्ताले माग राखेका थिए ।

त्यही बेलामा कार्यालय प्रमुख इन्जिनियर शिव अमात्यलाई फोन आयो । "हामीले अनलाइनबाट नै खानेपानीको बिल तिर्न सक्ने प्रविधि बनाएका छौं," फोन गर्नेले भने, "बिल तिर्नेमात्र होइन उपभोक्ताको सबै काम कार्यालयमा बसेर सफ्टवेयरबाट गर्न सकिन्छ ।"

लेखनाथ खानेपानी उपभोक्तालाई "ढुंगा खोज्दा देवता फेला" परे जस्तै भयो। "ल हामीले खोजेको यही त हो नी," अमात्यले फोनमै भने ।

यो कुरा २०७१ सालको हो । दियालो टेक्नोलोजिजले खानेपानी उपभोक्ताको लागि भनेर अनलाइनबाट बिल तिर्न सकिने र खानेपानी संस्थाले सफ्टवेयरबाट सबै किसिमको सेवा दिन सक्ने प्रविधिको विकास गरेको थियो ।

अहिले लेखनाथ खानेपानी संस्थाका १४ हजार उपभोक्ताले बिल तिर्न कार्यालय धाइरहनु पर्दैन । त्यत्तिमात्र होइन आफ्नो धारामा पानी किन आएन, आफ्नो बिल कति भयो र गुनासोसमेत राख्नलाई मोबाइल मै सुविधा छ ।

"खानेपानीको शुुल्क तिर्न ८० रुपैया भाडा तिरेर ३ घण्टा खर्चिनुपर्ने बाध्यताको अन्त्य भएको छ," अमात्य भन्छन्, "अहिले ७५ प्रतिशत खानेपानीको विल उपभोक्ताले अनलाइनबाट तिरिरहेका छन् ।"

आजसम्म दियालो टेक्नोलोजिजको यो प्रविधि मुलुकभरका ५० जिल्लाका २५० खानेपानी संस्थामा लागुभएको छ । यि संस्थाका ६ लाखभन्दा धेरै ग्राहक (घरधुरी) यस्तै डिजिटल प्रविधिमा जोडिएर विभिन्न सुविधा लिइरहेका छन् ।

वाटरमार्क

वाटरमार्क एक सफ्टवेयर हो जसलाई खानेपानी संस्थाको कार्यालय पूर्ण डिजिटाइज गर्छ । यसमा १० वटा मोडुलहरु अर्थात १० वटा शीर्षकमा विभिन्न सुविधाहरु भएको खनालले बताए । यो मुख्यगरी बिलिङ, लेखा र स्टक व्यवस्थापन गर्ने सफ्टवेयर हो ।

यसमा ग्राहक दर्ता, नामसारी, ठाउँसारी, बिलिङ, मिटर रिडिङ, लेखाजिन्सी व्यवस्थापन, एनालिसिस, धारा व्यवस्थापन, कर्मचारी व्यवस्थापनलगायतका सुविधा छन् । यो सफ्टवेयर राख्दा वाटिकै इसेवा, फोनपेमा जोडिन्छ र उपभोक्ताले विल भुक्तानी गर्न सक्छन् ।

यो प्रविधि अहिले मुलुकभरका २५० वटा खानेपानी समिति वा संस्थाहरुले चलिरहेको र यि संस्थाका ६ लाख उपभोक्तासँग जोडिएको खनाल बताउँछन् ।

मिटरमार्क

दियालो टेक्नोलोजिजले खानेपानी संस्थाको लागि सफ्टवेयरसँगै उपभोक्ताको लागि डेडिकेटेड मोबाइल एप पनि बनाएको छ । यो मोबाइल एपबाट मिटरङ गर्न सकिने एप हो — मिटरमार्क ।

समिति र उपभोक्ताबीच संचार एपले गरिरहेको छ । उपभोक्ताले कति पानी खर्च भएको छ, कति नम्बर रिडिङ भएको छ, कति पैसा उठेको छ भन्ने सबै एपबाट थाहा पाउन सक्छन् । जानकारीसँगै पानी आएन, बिग्रियो जस्ता गुनासो यसबाट गर्न सक्छन् ।

कोरोना संक्रमण सुरु भएपछि देशका कतिपय ठाउँमा मिटर रिडिङ गर्न नसक्ने अवस्था भयो । त्यो बेला उपभोक्ताले आफ्नो मिटर आफै हेरेर बिल पनि तिरेका थिए । यसको लागि मिटरमा आएको अंक टाइप गर्ने र मिटरको फोटो पनि खिचेर पठाउनु पर्छ ।

SHARE ARTICLE