Startup 7 min read

बैंकरको घर जाने आइडियाले जन्माएको बससेवा, अब टिकट काट्न बसपार्क जानु पर्दैन

ClickMandu

Jul 2019

काठमाडौं । आजभन्दा झण्डै ५ वर्ष अगाडि बैंकिङ क्षेत्रमा करिअर चम्काइरहेका अर्घाखाँची खनका पीआर खनालको मनमा स्टार्टअप बिजनेसको आईडिया फुर्यो ।

बैंकमा आईटी डिपार्टमेन्टमा काम गरिरहेका उनलाई त्यही फिल्डमा "केही गर्नुपर्छ" भन्ने मनमा पहिलेदेखि नै थियो । आईटीमा भएको दख्खललाई कुन क्षेत्रमा प्रयोग गर्दा बढी सफल भइन्छ भन्ने अनुसन्धान गर्दै गर्दा मनमा यातायात क्षेत्रले प्रवेश पायो ।

त्यतिबेला यातायात क्षेत्र सिन्डिकेटको मारमा थियो । प्रविधिको प्रयोग असाध्यै कम थियो । मोबाइल वालेट पेमेन्टले भर्खरै सुरुवात पाएको थियो । हवाई जहाजका टिकट काट्ने चलन त थियो तर यसले व्यापकता अझै पाएको थिएन ।

"मोबाइलको एन्ड्रोइड एप्लिकेशन वा वेवसाइटमा गयो । खाली सिट छान्यो । त्यहीबाट पेमेन्ट गर्यो । निमेषभरमै टिकट मोबाइलको म्यासेज बक्समा आइपुग्छ । यसले यात्रुलाई बसपार्क वा टिकट काउन्टरसम्म जानुपर्ने झन्झट हटाइदियो ।"

त्यसै समयमा उनले सोचे बसका टिकट पनि यसैबाट काट्न पाए कति सजिलो हुने थियो ? यही सोचलाई मूर्तरुप दिनका लागि बस सेवा सुरु गरे । सुरुमा खनाल साथीहरुसँग मिलेर काम सुरु गरे । बस व्यवसायीहरुलाई आईडिया सुनाए ।

बस सेवा सुरु गरेको आज ५ वर्ष बितिसकेको छ । जसमा हजारौं यात्रुले सेवा लिइरहेका छन् । यसले यात्रुलाई बसपार्क वा टिकट काउन्टरसम्म जानुपर्ने झन्झट हटाइदियो । सिट पाइएला कि नपाइएला भन्ने चिन्ता छिनभरमै दूर गरिदियो ।

कसरी हुन्छ त कमाई ?

कमाई कसरी हुन्छ त ? सरल उत्तर छ — कमिसन । यात्रुले टिकट काटेवापत व्यवसायीहरुसँग सम्झौता भए बमोजिम बस सेवाले निश्चित कमिसन पाउँछ । खनालका अनुसार ३ प्रतिशतदेखि २२ प्रतिशतसम्म टिकटबाट बस सेवाले कमिसन लिन्छ ।

हाल कम्पनीमा २२ जना कर्मचारी बिहानैदेखि रातिसम्म काम गर्छन् । यात्रुका गुनासा सुन्छन् । सेवालाई प्रभावकारी बनाउनका लागि योजना बनाउछन् र कार्यान्वयन गर्छन् ।

बैंकरबाट स्टार्टअप

अर्घाखाँची खनमा घर । २०५७ सालमा पढाइका सिलसिलामा राजधानी छिरेपछि त्यसयताका वर्षमा घर जाँदा आउँदा बसको प्रयोग त अनिवार्य नै भयो । दशैंमा जाँदा बसपार्क गएर घण्टौं लाइन लागेपछि टिकट पाइन्थ्यो ।

व्यवसायको पहिलो दिन सम्झँदै उनले भने, "पहिलो दिन नै ३ वटा टिकट काटिए, एउटा आशा पलायो ।" हालसम्म १ सयभन्दा बढी बस व्यवसायीहरु बससेवासँग जोडिएका छन् । जसमा २५० वटा बसले दैनिक सेवा दिन्छन् र दैनिक ६०० भन्दा बढीले अनलाइन टिकट काट्छन् ।

जानकारीको कमी

मोबाइलबाटै निमेषभर मै टिकट काट्न पाउनु निकै सजिलो काम हो । तर मानिसहरु अझै पनि मोबाइलबाट टिकट काट्न अभ्यस्त भइनसकेको खनालको बुझाइ छ । खनाल भन्छन्, "जानकारीको कमी हो, त्यसमाथि प्रविधिको साक्षरता र विश्वासको कमीले पनि हुन सक्छ ।"

आगामी ५ वर्षमा यस प्रणालीबाट टिकट काट्नेहरुको संख्या निकै बढ्ने विश्वास खनालको छ ।

SHARE ARTICLE